पास्टरज्यू, तपाईंको वचन प्रचार कस्तो छ?

भोजराज भट्ट

परमेश्वरीय सेवामा पास्टरीय बोलावट सबैभन्दा गहन बोलावट हो।  एउटा मानिसको जन्मदेखि मृत्युसम्मको यात्रामा पास्टरले उसलाई साथ दिनुपर्दछ।  दुःख होस् या सुख, रात होस् या दिन, बेला न कुबेला पास्टरले आफ्नो सम्पूर्ण स्वार्थलाई बिर्सेर विश्वासीको सेवामा दौडिनुपर्दछ।  त्यति गर्दा पनि जसभन्दा अपजस नै उसको भागमा पर्दछ।  त्यसैकारण स्वर्गीय बोलावटविना कोही पास्टरीय सेवामा आएको थियो भने केही वर्षमै झोलीझाम्टी बोकेर ऊ आफ्नो बाटो लाग्छ।     

बाइबलले यो बोलावटलाई परमेश्वरीय गोठालोपनसँग दाँजेको छ। शब्दावलीबाट नै यो स्पष्ट हुन्छ। पुरानो नियममा परमेश्वरलाई ‘गोठालो’ भनी सम्बोधन गर्दा बस्तुभाउको हेरचाह गर्ने मानिसको लागि प्रयोग हुने हिब्रू शब्द ‘रा-आ’ चलाइएको छ भने नयाँ नियममा ग्रीक शब्द ‘पोइमेन्’।  यसै शब्दबाट ‘पास्टर’ शब्दको उत्पत्ति भएको हो। कयिनले आफ्नो भाइ हाबिलको हत्या गरेपछि परमेश्वरले उसलाई हप्काएर सोध्‍नुहुन्छ, “तेरो भाइ खोइ?”  आफ्नो कर्तव्यमा चुकेको दोषी हृदयबाट कयिनले जवाफ दिन्छ, “के म मेरो भाइको गोठालो हुँ र” (उत्पत्ति ४ः९)?  हो, परमेश्वरले कयिनलाई भन्दै हुनुहुन्थ्यो कि ऊ आफ्नो भाइको गोठालो हुनुपर्नेथियो, तर शत्रु भएर निस्क्यो। 

मानिस आफ्नो भाइको गोठालो हुन नसक्‍ने देखेर परमेश्वर आफै मानिसको गोठालो हुनुभयो।  योसेफका दाजुहरूले उनीप्रति कयिनकै व्यवहार गरे, तर परमेश्वरले उनको हेरचाह गर्नुभएको तथ्यलाई उल्लेख गर्दै वृद्ध याकूब भन्छन्, “ती गोठाला” (याकूबका परमशक्तिशाली परमेश्वर) योसेफको साथमा नभएको भए उनी पहिल्यै नष्ट भैसक्थे (उत्पत्ति ४९ः२३-२४)।  परमेश्वर योसेफको गोठालो हुनुभएको कारण न उनलाई दाजुहरूले नाश गर्न सके न त मिश्रको दुःखले। 

याकूबका सन्तानलाई मिश्रबाट परमेश्वरले गोठालोले झैं डोर्‍याएर प्रतिज्ञाको देशमा ल्याउनुभयो।  इस्राएलको महान राजा दाऊद आफै एक गोठालो भएको कारण उनले परमेश्वरको गोठालोपनलाई आफ्नो जीवनमा प्रत्यक्ष अनुगभव गरेका थिए र भन्छन्, “परमेप्रभु मेरो गोठालो हुनुहुन्छ” (भजन २३ः१) र “हामी उहाँका खर्कका भेडाहरू हौं” (भजन ९५ः६-७)।

परमेश्वरको गोठालोपनलाई स्वीकार गर्दै प्रभु येशूले भन्नुभयो, “म असल गोठालो हुँ” (यूहन्ना १०ः११)।  आफू पिताकहाँ जानुअघि पत्रुसलाई यो गोठालोपनको जिम्मा दिँदै उहाँले भन्नुभयो, “मेरा पाठा (भेडा) हरूलाई खुवाऊ र हेरचाहा गर” (यूहन्ना २१ः१५-१७)।  जब पत्रुसको संसार छोड्ने बेला आयो तब आफूपछिका सेवकहरूलाई गोठालोको जिम्मा कसरी निर्वाह गर्नुपर्छ भन्दै उनी भन्छन्, “तिमीहरूको रेखदेखमा राखिएको परमेश्‍वरका बगालको हेरचाह गर।  करले होइन तर स्‍वेच्‍छाले, धनको लोभले होइन तर उत्‍साहसाथ, तिमीहरूको जिम्‍मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको निम्‍ति उदाहरण भएर।  र जब मूल गोठालो प्रकट हुनुहुनेछ, तब तिमीहरूले महिमाको नओइलाउने मुकुट प्राप्‍त गर्नेछौ” (१पत्रुस ५ः२-४)।       

त्यसकारण हामी भन्न सक्छौं कि बाइबलीय प्रकाशअनुसार बगाल (स्थानीय मण्डली) का पाठा र भेडाहरूलाई खुवाउनु र तिनीहरूको हेरचाहा गर्नु पास्टरका मुख्य जिम्मेवारीहरू हुन्।  यसै सन्दर्भमा आज मलाई मेरा पास्टर मित्रहरूलाई प्रश्‍न सोध्‍न मन लागेकोछ, “के हामीले यी जिम्मेवारीहरू पूरा गरिरहेका छौं त?  के हामी आफ्नो मण्डलीका विश्वासीहरूलाई सन्तुलित आत्मिक भोजन खुवाउन सफल भएका छौं?”  परमेश्वरको वचनबाट खाँदिलो आत्मिक भोजन खुवाइएका विश्वासीहरूले मात्रै मण्डलीलाई मजबुत बनाउनुका साथै समाजमा सकारात्मक प्रभाव पार्नसक्छन्।     

पहिलो प्रश्‍न उठ्नसक्छ कि विश्वासीलाई खाँदिलो भोजन कसरी खुवाउने?  प्रत्येक मण्डलीका आफ्नै प्रकारका शिक्षा र सङ्गति दिने तरिकाहरू हुन्छन्।  साप्‍ताहिक सेवादेखि घरेलु सङ्गतिमा वचनको सेवा र शिक्षा दिइन्छ।  तर त्यसमा सबैभन्दा महत्त्वपूर्ण क्षेत्र हो साप्‍ताहिक सेवाको समयमा गरिने वचन प्रचार।  हो, हप्‍तामा एक पटक ३० मिनट जति गरेको वचन प्रचारले सायद पूर्ण आत्मिक खुराक नपुग्ला, तर योविनाको अन्य शिक्षामूलक गतिविधि र सङ्गतिको प्रभाव न्यून हुन जान्छ।  मण्डलीको साप्‍ताहिक सेवामा पास्टरले प्रभावकारी वचन प्रचार गर्दछ भने त्यो मण्डलीका विश्वासीहरूमा बाइबलप्रतिको मोहमा वृद्धि हुन्छ, परमेश्वरप्रतिको समर्पणमा गाम्भीर्यता आउँदछ र चर्चप्रतिको दायित्वमा सक्रियताको विकास हुन्छ।  तर पास्टरको साप्‍ताहिक प्रचारमा प्रभावकारिताको कमी भएको खण्डमा विश्वासीहरूमा भएको जोस र उत्तेजना सेलाउँदै जान्छ। 

दोस्रो प्रश्न के छ भने, कस्तो किसिमको वचन प्रचार गर्ने शैलीले विश्वासीमा जोस र उमङ्ग हाल्नुका साथै आत्मिक परिपक्‍वता ल्याउन सक्छ?  गवाही, सपना, दर्शन, चङ्गाइजस्ता व्यक्तिगत अनुभवमा आधारित प्रचार गर्ने शैली नै नेपाली मण्डलीमा चल्दै आएको चलन हो।  हरेक हप्‍ता कुन वचन र के विषयमा प्रचार गर्ने भनी पास्टरले निर्णय गर्नु पर्ने हुन्छ।  यस्तो अवस्थामा पास्टरलाई जे मन लाग्यो त्यो वियष र उसलाई मन परेका बाइबलका पदहरू मात्रै प्रचारिने भएको कारण विश्वासीहरूमा बाइबलीय प्रकाशको अनिकाल पर्दछ र आत्मिक कुपोषणका शिकार बन्दछन्।  त्यसैकारण यो लेखबाट म मेरा पास्टर मित्रहरूलाई यो प्रेरणा दिन चाहन्छु कि हाम्रा विश्वासीहरूमा आत्मिक तागत ल्याउने हो भने हामीले बाइबलबाट प्रचार गर्नु आवश्यक छ। अर्थात, हामीले आफ्नो सोचबाट प्रचार गर्ने विषय छान्नुको सट्टा बाइबलको कुनै पुस्तक वा अध्यायलाई जस्ताको त्यस्तै प्रचार गर्न सक्‍नुपर्छ।  उत्पत्तिदेखि प्रकाशको पुस्तक सम्मै क्रमबद्ध तरिकाले प्रचार गर्न सके झनै राम्रो!  पूरै बाइबल प्रचार गर्न सक्‍ने सम्भावना नभएको खण्डमा समय र परिस्थिति सुहाउँदो खण्ड वा पुस्तकलाई छानेर प्रचार गर्दा परमेश्वरको वचनले जुन प्रकारको परिवर्तन चाहेको छ त्यो विश्वासीहरूमा उत्पन्न हुन जान्छ।  बाइबलको सर्वाङ्गीण ज्ञान र चौतर्फी आत्मिक विकासको लागि यो प्रचारशैली निकै प्रभावकारी रहेको कुरा इतिहासले प्रमाण दिएको छ।

मण्डलीको इतिहासमा र आज पनि प्रायः सबै प्रभावशाली पास्टरहरूले यसै शैलीलाई अपनाएको देखिन्छ।  यो प्रचारविधिलाई अङ्ग्रेजीमा ‘एक्सपोजिटरि प्रिचिङ्’ भनिन्छ जसको मतलब हो; बाइबललाई चाखलाग्दो तरिकाले जस्ताको त्यस्तै मानिसका सामु छर्लङ्ग पार्नु।  जब परमेश्वरको वचन मानिसका सामु छर्लङ्ग हुन्छ तब त्यो वचनले उनीहरूमा ईश्वरीय परिवर्तन ल्याउँदछ।  प्रचारकको चटकी, गवाही र चमत्कारले केही समयको लागि विश्वासीमा उत्तेजना त ल्याउनसक्छ, तर दीर्घकालीन परिवर्तन ल्याउन सक्दैन।  मानिसको दीर्घकालीन जीवन परिवर्तन र आत्मिक सशक्तिकरणको लागि परमेश्वरको लिखित वचनलाई पास्टरले हप्‍तैपिच्छे गरिने प्रचारबाट जीवित वचनमा परिणत गर्न सक्‍नु पर्दछ।

अर्को प्रश्न पनि गर्नै पर्ने हुन्छ कि कस्तो पास्टरले सफलतापूर्वक ‘एक्सपोजिटरि प्रचार ’ गर्नसक्छ?  आजको परिवेशमा धेरैलाई यो प्रश्नको जवाफ मन पर्दैन होला कारण अधिकांश नेपाली मण्डलीका पास्टरहरू ‘थियोलोजिकल’ (ईश्वरशास्त्रीय) शिक्षालाई महत्त्व दिँदैनन्।  ‘ईश्वरशास्त्रीय’ शिक्षाप्रति उहाँहरूमा देखिएको वितृष्णाको कारण सायद कतिपय बाइबल विद्वान भनेर चिनिएकाहरूले मण्डलीप्रति देखाएको नकरात्मक उदाहरणहरू पनि हुन सक्छन्।  तापनि, आजभन्दा झण्डै एकसय वर्ष पहिलाका बाइबल तथा वचन प्रचार सम्बन्धी विद्वान ह्यारोल्ड नटले आफ्नो महत्त्वपूर्ण पुस्तकमा ठोकेरै भनेका छन्, “अशिक्षित पास्टरले ‘एक्सपोजिटरि प्रचार’ गर्न सक्दैन”।[1]  उनका अनुसार सफल ‘एक्सपोजिटरि’ प्रचारकको जीवनमा निम्‍न चार वटा गुणहरू नभइ हुँदैन;  

१)   Good General Education (सांसारिक ज्ञानमा शिक्षित): येशूले भन्नुभयो “तिमीहरू संसारमा छौ तर संसारका होइनौ।”  प्रभावकारी बाइबलीय प्रचारको लागि पास्टरसँग आफ्नो संसारको ज्ञान हुनु अत्यन्त आवश्यक छ।  भूगोल, इतिहास, मानवशास्त्र, मनोविज्ञान, विज्ञान, मनोरञ्जन, कला, साहित्य, दर्शन, अर्थ, राजनीति आदि जस्ता मानव जीवनमा असर गरिरहेका पक्षहरूको बारेमा आधारभूत ज्ञान बिनाको प्रचारकले आफ्ना विश्वासीहरूको जीवनमा बाइबललाई जीवन्त बनाउन सक्दैन।   

२)  Good Bible Training (बाइबलमा तालिम प्राप्‍त): जसरी संसारको ज्ञान हुनु आवश्यक छ त्यसरी नै उक्त पास्टरले बाइबलको ज्ञानमा पनि निपूणता हासिल गरेको हुनैपर्छ।  बाइबलका पानाहरूमा के छ र के भन्न खोजिएको छ?  प्रत्येक पुस्तकमा के छ र कसरी उल्था गर्ने?  पुरानो नियमको लागि हिब्रू भाषा र नयाँ नियमको लागि ग्रीक भाषाको न्यूनतम् ज्ञान र कसरी शाब्दिक अर्थ लाउन सकिन्छ भनी आधारभूत तालिम लिएकै हुनुपर्छ। त्यसका साथै बाइबलको संसार कस्तो थियो र त्यो संसारलाई आजको संसारसँग कसरी जोड्न सकिन्छ भनी तालिम प्राप्‍त गरेकै हुनुपर्छ।  यदि यसरी बाइबलसम्बन्धी तालिम लिएको छैन भने उसको प्रचारमा अर्थको अनर्थ पनि भैरहेको हुनसक्छ।  प्रायजसो ‘थियोलोजिकल’ शिक्षाको विरोध गर्ने पास्टरहरूको प्रचारमा बाइबलीय यथार्थ नभएर आफ्नै मनगढन्ते अर्थहरू लगाइएको देखिन्छ।  थाहा नपाउनु वा ज्ञान नहुनु एउटा पास्टरको लागि घातक हुनजान्छ कारण उसको मण्डलीमा उपस्थित बुद्धिजीवि वर्गले उसलाई पत्याउन छोड्नेछन् ।  पास्टरको शैक्षिक स्तरले उसको मण्डलीको शैक्षिक स्तरलाई निर्धारण गर्दछ।

३)  Good Studious Habits (अध्ययनशील): संसारसम्बन्धी आवश्यक ज्ञान र बाइबलमा तालिम प्राप्‍त व्यक्ति बन्नको लागि विश्वविद्यालयमा गएर औपचारिक शिक्षा हासिल गर्नैपर्छ भन्ने छैन,  गर्न सके राम्रो।  तर कुनै मानिस ज्ञानी र अज्ञानी बन्नको लागि उसको सिक्‍ने इच्छा र आदतमा भर पर्दछ।  पास्टरमा दैनिक अध्ययन गर्ने बानी छैन भने ऊ मण्डलीको पास्टर हुन योग्यको मानिस होइन।  अध्ययन नगर्ने मानिसले बाइबलीय प्रचार गरेर आफ्ना मानिसलाई आत्मिक खुराक खुवाउन सक्दैन।यो असम्भव छ।  त्यसैकारण पास्टरले पैसा र पदको लोभमा अध्ययन र चिन्तनलाई छोडेर विभिन्न संघ-संस्थामा धाउन थालेको खण्डमा उसको मण्डलीमा वचनको अनिकाल पर्नेछ।  प्रचार गर्दा पनि केवल उसको मनमा लागेका र उठेका विचारहरूलाई पोखाउनेछ वा अरूले गरेको प्राचारलाई चोरी गरेर विश्वासीको आँखामा छारो हाल्नेछ।  यसरी पोखाइएका विचारहरू जीवन दिने परमेश्वरको वचनको विकल्प हुन सक्दैनन्।  बाइबलको कुनै खण्ड वा पुस्तकबाट इमानदार प्रचार गर्न पास्टरले त्यो खण्डमा निकै मेहेनतका साथ अध्ययन, मनन्, प्रार्थना र तयारी गरेकै हुनुपर्छ।  
  
४)  Good Oratorical Skill (कुशल वक्तृत्वकला): संसारको ज्ञान, बाइबलको तालिम र अध्ययनशील पास्टरले अर्को मेहेनत गर्नुपर्ने क्षेत्र हो वक्तृत्वकला।  आफूसँग भएको परमेश्वरीय प्रकाशलाई प्रभावकारी ढङ्गले मानिसको जीवनमा हस्तान्तरण गर्न पास्टरले आफ्नो प्रचार गर्ने कलालाई विकसित गर्नैपर्छ।  साधारण विषयलाई पनि दक्ष वक्ताले चाखलाग्दो तरिकाले प्रस्तुत गरेको खण्डमा स्रोताको जीवनमा गहिरो छाप पर्न जान्छ तर अदक्ष वक्ताले गम्भीर विषयलाई पनि दिक्‍कालाग्दो बनाउँछ।  पास्टरको प्रचार दिक्‍कलाग्दो हुनुहुँदैन।  दक्ष वक्ता बन्न अध्ययन र अभ्यास दुवै चाहिन्छ।   

पास्टरको जीवनमा यी चार वटा गुणहरूले ठाउँ पाएको छ र पवित्र आत्माको अगुवाइमा ऊ चल्ने मानिस हो भने उसको जिम्मामा रहेको बगाललाई कहिल्यै पनि वचनको अनिकाल पर्नेछैन।  पास्टरको प्रचारमा परमेश्वरीय प्रकाश हुनेछ र त्यसले विश्वासीको जीवनमा परिवर्तन ल्याउनेछ।  वचनको अनिकाल नपरेको मण्डलीमा संख्यात्मक र गुणात्मक वृद्धि हुनेछ र विश्वासीहरू आत्मिक, भौतिक, बौद्धिक र भावनात्मक रूपमा स्वस्थ रहनेछन्।  पास्टर आफैलाई पनि वचन प्रचारको भारले थिचिएको हुनेछैन कारण ऊ आफ्नो विचारबाट होइन, तर बाइबलले दिएको खण्डबाट बोल्ने भएको कारण उसले नयाँ विषयहरू खोजिरहनु पर्दैन। 

चाखलाग्दो र प्रभावकारी बाइबलीय प्रचारको माध्यमबाट हामी आफ्नो जिम्मामा दिइएका बगालको सजिलैसँग पालन पोषण र हेरचाह गर्न सक्‍नेछौं।तर आफ्नो सीमित मानवीय अनुभव र मन पर्ने बाइबलका खण्डबाट मात्रै प्रचार गर्छौं भने हामीले विश्वासीलाई धोका दिइरहेका ठहरिनेछ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *